Unlocked Literal Bible — Nepali (2019)
उत्पत्ति 18
1दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो । 2तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे । 3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस् । 4केही पानी ल्याउन दिनुहोस्, र तपाईंहरू आफ्ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस् । 5मलाई केही रोटी ल्याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्नुहुन्छ, किनभने तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।” 6तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।” 7अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्यसलाई हतारमा तयार गर्न लागे । 8तिनले दही, दूध र त्यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए । 9उनीहरूले तिनलाई सोधे, “तेरी पत्नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन् ।” 10परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन् । 11अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्चा जन्माउने उमेर बितिसकेको थियो । 12यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्नुभएको छ, के मैले सुख पाउँछु र?” 13तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’? 14परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।” 15त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन् । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।” 16तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्म उनीहरूलाई बिदा गर्न गए । 17तर परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? 18अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् । 19किनभने मैले त्यसलाई आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्नुभएको कुरा पुरा गर्नुभएको होस् ।” 20तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण 21मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।” 22यसकारण ती पुरुषहरू त्यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे । 23तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्टहरूसँगै नष्ट गर्नुहुनेछ? 24सायद त्यस सहरमा पचास धर्मी जन छन् होला । के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? 25धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र? 26परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।” 27अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु । 28यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्नुभयो, “यदि मैले त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ ।” 29तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्यहाँ चालीस रहेछन् भने?” उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।” 30तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्यहाँ तिस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तिस जना नै पाएँ भने पनि म त्यसो गर्नेछैनँ ।” 31तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।” 32तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब अन्तिम एक पल्ट बोल्नेछु । सायद त्यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्नुभयो, “दश जनाका खातिर पनि म त्यो नाश गर्नेछैनँ ।” 33अब्राहामसित कुरा गरिसक्ने बित्तिकै परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो घर फर्के ।
This chapter is not in this version.
Keep going
Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..