Skip to content

Unlocked Literal Bible — Nepali (2019)

उत्पत्ति 17

1अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “म सर्वशक्‍तिमान् परमेश्‍वर हुँ । मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो । 2त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्‍का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।” 3अब्राम घोप्‍टो परे अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, 4“निश्‍चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्‍नेछस् ।” 5तेरो नाम अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ । किनकि म तँलाई धेरै जातिका पिता हुनलाई नियुक्‍त गर्छु । 6म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु । तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन् । 7तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु । 8तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।” 9त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म । 10यो मेरो र तेरो र तँपछि आउने तेरा सन्‍तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार होः तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ । 11तिमीहरूको खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ । 12तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ । यसमा तेरो घरमा जन्मेका र तेरो सन्‍तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्‍ति पनि पर्दछन् । 13तेरो घरमा जन्मेका र तेरो पैसाले किनेका सबैको खतना हुनैपर्छ । यसरी मेरो करार तिमीहरूको शरीरमा नित्य रहिरहने करार हुनेछ । 14खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्‍ग गरेको छ ।” 15पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ । 16म त्यसलाई आशिष् दिनेछु, र त्यसद्वारा म तँलाई एउटा छोरो दिनेछु । म त्यसलाई आशिष् दिनेछु, र त्यो जाति-जातिहरूकी आमा हुनेछे । जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन् ।” 17त्यसपछि अब्राहाम घोप्‍टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?” 18अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!” 19परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु । 20इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु । 21तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।” 22तिनीसँग कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामदेखि छुट्टिनुभयो । 23त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे । 24तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए । 25तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए । 26अब्राहाम र इश्माएलको खतना एकै दिनमा भयो । 27तिनको घरमा जन्मेका र विदेशीबाट किनिएका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.