Skip to content

Unlocked Literal Bible — Nepali (2019)

रोमी 9

1म येशू ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ, 2कि मेरो लागि मेरो हृदयमा असाध्य कष्‍ट र अटुट पीडा छ । 3म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैँचाहिँ श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ । 4तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् । 5ख्रीष्‍टको शरीरअनुसार ख्रीष्‍ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन् । उहाँ नै सबैका परमेश्‍वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन । 6तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन, किनकि इस्राएलका सबै साँचो रूपमा इस्राएलका होइनन् । 7न त अब्राहामका सबै सन्तानहरू साँचो रूपमा उनका सन्तानहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्तानहरू भनिनेछन् ।” 8अर्थात् शरीरबाट जन्मेका सन्तानहरू परमेश्‍वरका सन्तानहरू होइनन् । तर प्रतिज्ञाका सन्तानहरू नै सन्तानहरूका रूपमा गनिन्छन् । 9किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।” 10यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्‍ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– 11किनकि सन्तानहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर 12तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” 13जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ ।” 14त्यसो हो भने, हामी के भनौँ त ? के परमेश्‍वरसित अधार्मिकता छ त ? कहिल्यै यस्तो नहोस् । 15किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउँछु ।” 16त्यसैले, यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो । 17किनकि धर्मशास्‍त्रले फारोलाई भन्छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरेँ, ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।” 18त्यसैले, परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ । 19तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त ?” 20त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको ? ” 21के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र ? 22परमेश्‍वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्छा गरिरहनुभएको छ भने के त ? 23यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमा प्रकट गर्न यसो गर्नुभएको हो भने के त ? 24यदि उहाँले यो हाम्रो निम्ति अर्थात् यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के त ? 25जसरी उहाँ होशेको पुस्तकमा भन्‍नुहुन्छ, “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिएनन् तिनलाई प्रिय भन्‍नेछु । 26र त्यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछन् ।” 27यशैया इस्राएलको विषयमा भन्छन्, “यदि इस्राएलका सन्तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति थिए भने बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन् । 28किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पुरा गर्नुहुनेछ, 29अनि यशैयाले अगाडि नै भने, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम र गमोराजस्ता हुने थियौँ ।” 30त्यसो भए, हामी के भनौँ त ? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे । 31तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् । 32किन पाएनन् त ? किनकि तिनीहरूले विश्‍वासद्वारा खोजेनन्, तर कर्मद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठेस खाए, 33जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्गा र चोट लाग्‍ने चट्टान राख्‍दै छु । जसले यसमा विश्‍वास गर्छ त्यो लज्‍जित हुनेछैन ।”

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.