Skip to content

Unlocked Literal Bible — Nepali (2019)

नहूम 3

1रगतले भरिएको सहरलाई धिक्‍कार! त्यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन् । 2तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् । 3आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् । 4टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ । 5सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्‍तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु । 6म तँमाथि घिनलाग्दो फोहोर फ्याँक्‍नेछु र तँलाई घृणित बनाइदिनेछु । म तँलाई यस्तो बनाउनेछु, कि सबैले तँलाई हेर्नेछन् । 7तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् र भन्‍नेछन्, ‘निनवे नष्‍ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?” 8निनवे, के तँ नील नदीको किनारमा बनाइएको नो शहरभन्दा असल छस्, त्यो शहर जसको वरिपरि पानी थियो, जसको सुरक्षा सागर, र जसको पर्खाल समुद्र थियो? 9कूश र मिश्र त्यसका शक्ति थिए, र त्यसको कुनै अन्त थिएन । पूत र लिबिया त्यसका मित्रराष्‍ट्रहरू थिए । 10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए । 11तँ मतवाला हुनेछस्, तँ लुक्‍न कोसिस गर्नेछस्, र तैँले आफ्नो शत्रुबाट भाग्‍नलाई शरणस्थान खोज्नेछस् । 12तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् । 13हेर्, तेरा बिचमा भएका मानिसहरू स्‍त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्यसका गजबारहरू भस्म पारेको छ । 14घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् । 15आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ्‍ । 16तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस्, तर तिनीहरू सलहहरूझैँ हुन्, तिनीहरूले भुमिलाई लुटेर उडिजान्छन् । 17तेरा राजकुमारहरू सलहहरूझैँ धेरै छन्, र तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो चिसो दिनमा पर्खालहरूमा बस्छन् । तर घाम उदाएपछि ती कहाँ उडेर जान्छन् भन्‍ने नै थाहा हुँदैन । 18अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन । 19तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो लगातारको दुष्‍टताबाट को भागेको छ र?

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.