Skip to content

Unlocked Literal Bible — Nepali (2019)

लुका 4

1तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो । 2त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो । 3तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।” 4येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन ।” 5त्यसपछि, शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो । 6शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु । 7यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।” 8तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” 9त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् । 10किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’ 11अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।” 12येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू ।” 13अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो । 14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो । 15उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे । 16एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो । 17उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो । 18“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न, 19र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।” 20त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो । 21उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।” 22उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र ? 23येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।” 24साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन । 25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए । 26तर एलियालाई अन्य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो । 27अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन । 28जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए । 29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे । 30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो । 31त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो । 32तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो । 33त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो, 34“नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।” 35येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो । 36सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन् ? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन् ?” 37उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो । 38त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे । 39उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् । 40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो । 41तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो । 42जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे । 43तर येशूले भन्‍नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।” 44त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.