Skip to content

Unlocked Literal Bible — Nepali (2019)

लेवीहरू 23

1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् । 3तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो । 4परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू । 5पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार-चाड हो । 6सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । 7पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू । 8तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।” 9परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, 10“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले तिमीहरूलाई दिन लागेको देशमा तिमीहरू पुगेर त्यहाँ फसलको कटनी गरेपछि तिमीहरूले बालीको पहिलो फलको एक बिटा पुजारीकहाँ ल्याउनू । 11त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने छ र तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने छ । शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने छ । 12बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू । 13अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् । 14यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् । 15शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू । 16सातौँ शबाथको पचास दिन तिमीहरूले गन्‍नू । त्यसपछि तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नको बलि चढाउनू । 17तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् । 18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् । 19तिमीहरूले पापबलिको निम्ति एउटा बोका, र मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू । 20पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस्, र दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् । ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन् । 21त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ । 22तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना-कुनामा कटनी नगर्नू, र आफ्नो फसलको शिला-बाला नबटुल्‍नू । ती तिमीहरूले गरिब र परदेशीका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।” 23परमप्रभुले मोशालाई भन्‍नुभयो, 24“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ । 25तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।” 26अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, 27“सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू । 28त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो । 29त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् । 30त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु । 31तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस् । 32यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस्, र त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू । अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू ।” 33परमप्रभुले मोशालाई भन्‍नुभयो, 34“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ । 35पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू । 36सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू । 37यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ । 38परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् । 39छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ । 40पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, र धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिनू, र सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू । 41हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस् । 42तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू । इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्, 43ताकि तिमीहरूका वंशले पुस्तौँ-पुस्तासम्म यो जानून्, कि मैले इस्राएलका मानिसहरूलाई मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूलाई कसरी यी स-साना छाप्राहरूमा बस्‍न लगाएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।” 44यसरी मोशाले परमप्रभुका निम्ति तोकिएका चाडहरूबारे इस्राएलका मानिसहरूलाई घोषणा गरे ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.