Skip to content

Unlocked Literal Bible — Nepali (2019)

लेवीहरू 15

1परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो, 2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्‍दछ भने, त्यो अशुद्ध हुन्छ । 3त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्‍ने भए तापनि वा त्यो बग्‍न बन्द भए तापनि, त्यो अशुद्ध हो । 4त्यो पल्‍टिने सबै ओछ्‍यान अशुद्ध हुने छ, र त्यो बस्‍ने हरेक कुरा अशुद्ध हुने छ । 5त्यसको ओछ्‍यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ । 6सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्‍दछ भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ । 7सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ । 8यस्तो सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ । 9त्यस्तो रोग लागेको मानिस बस्‍ने काठी अशुद्ध हुने छ । 10त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्‍म अशुद्ध हुने छ, र ती कुराहरू बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ । 11त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्‍छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ । 12त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् । 13त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ । 14आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् । 15पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ । 16यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ । 17वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ । 18यदि कुनै पुरुष र स्‍त्री सँगै सुते र त्यस स्‍त्रीभित्र वीर्य स्‍खलन भयो भने, तिनीहरू दुवै पानीले नुहाऊन् र तिनीहरू साँझसम्‍म अशुद्ध रहने छन् । 19कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ । 20त्यसको महिनावारीको समयमा त्यो पल्‍टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्‍ने सबै कुरा अशुद्ध हुने छ । 21त्यसको ओछ्‍यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ । 22त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ । 23चाहे त्यो त्यस स्‍त्रीको ओछ्‍यान होस् वा त्यो बस्‍ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ । 24यदि कुनै मानिस त्यस स्‍त्रीसँग सुत्‍यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्‍टिने हरेक ओछ्‍यान अशुद्ध हुने छ । 25यदि कुनै स्‍त्रीको आफ्नो रजस्‍वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्‍यो भने, वा त्यसको रजस्‍वलाको समयभन्दा लामो समयसम्म रगत बग्‍यो भने, त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे । त्यो अशुद्ध हुने छे । 26रगत बग्‍ने समयमा त्यो पल्‍टिने सबै ओछ्‍यान त्यसको निम्ति रजस्‍वलाको बेलाझैँ हुने छ, र त्यो बस्‍ने सबै कुरा रजस्‍वलाको अशुद्धताझैँ अशुद्ध हुने छ । 27यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ । 28तर यदि त्यो स्‍त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे । 29आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् । 30पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ । 31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् । 32तरल बग्‍ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष, 33रजस्‍वलाको महिनावारी भएकी स्‍त्री, तरल बग्‍ने समस्या भएको पुरुष वा स्‍त्री, र अशुद्ध स्‍त्रीसँग सुत्‍ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन् ।’”

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.