Skip to content

Unlocked Literal Bible — Nepali (2019)

न्यायकर्ताहरू 21

1इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।” 2त्यसपछि मानिसहरू बेथेलमा गए र साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे, र तिनीहरू ठुलो स्वरले धरुधुरु रोए । 3तिनीहरूले यसो भनी पुकारा गरे, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, इस्राएलमा हामीमध्येको एउटा कुलचाहिं आजको दिनामा किन विलिन भयो?” 4भोलिपल्‍ट मानिसहरू बिहान सबेरै उठे र त्यहाँ एउटा वेदी बनाए र होमबलिहरू र मेलबलिहरू चढाए । 5इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।” 6इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो । तिनीहरूले भने, “आज इस्राएलबाट एउटा कुल बाहिरिएको छ । 7बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं ?” 8तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो । 9किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा, हेर, याबेश-गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन् । 10त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्‍त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए । 11“यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू ।” 12याबेश-गिलादमा बस्‍नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्‍त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे । 13सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए । 14ती बेन्यामीनीहरू त्यो समयमा फर्के र तिनीहरूलाई याबेश गिलादका स्‍त्रीहरू दिइयो । तर तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन् । 15बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए, किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो । 16त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।” 17तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् । 18हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’” 19यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ) ।” 20तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्‍तमा लुक र दाखबारीहरूमा पर्ख । 21शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क । 22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’” 23बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे । 24तब इस्राएलका मानिसहरूले त्यो ठाउँ छोडे, अनि हरेक व्‍यक्‍ति आ-आफ्नै कुल, र वंशमा र हरेक व्‍यक्‍ति आ-आफ्‍नै उत्तराधिकारको घरमा गए । 25ती दिनहरूमा इस्राएलमा कोही पनि राजा थिएन । हरेक व्‍यक्‍तिले आ-आफ्नो दृष्‍टिमा जे ठिक लाग्‍यो त्यही गर्थ्यो ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.