Skip to content

Unlocked Literal Bible — Nepali (2019)

यर्मिया 37

1यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे । बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए । 2तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् । 3त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर ।” 4यस बेला यर्मिया मानिसहरूकहाँ आउने र जाने गर्थे, किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन । 5फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे । 6तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो, 7“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ । 8कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।' 9परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् । 10तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।” 11त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो, 12तब यर्मिया यरूशलेमबाट प्रस्थान गरेर बेन्यामीनको इलाकामा गए । त्यहाँ तिनले आफ्ना मानिसहरूका बिचमा आफ्नो जग्गाको अंश लिन चाहन्थे । 13जसै तिनी बेन्यामीनको मूल ढोकामा पुगे, त्यहाँ मुख्य पहरेदार थिए । तिनको नाउँ यिरियाह थियो, जो हनन्याहका नाति, शेलेम्याहका छोरा थिए । तिनले यर्मिया अगमवक्तालाई समाते र भने, “तिमी कल्दीहरूकहाँ भागेर जाँदैछौ ।” 14तर यर्मियाले भने, “त्यो साँचो होइन । म कल्दीहरूकहाँ भागेर जानेछैन ।” तर यिरियाहले तिनको कुरा सुनेनन् । तिनले यर्मियालाई समाते र अधिकारीहरूकहाँ लगे । 15अधिकारीहरू यर्मियासित रिसाए । तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए । 16यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे । 17तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।” 18तब यर्मियाले सिदकियाह राजालाई भने, “तपाईं, तपाईंका सेवकहरू र यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्‍नुभयो ? 19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन् ? 20तर हे मेरा मालिक राजा, अब सुन्‍नुहोस् । मेरा बिन्ती हजुरको सामु राख्‍न दिनुहोस् । मलाई सचिव जोनाथनको घरमा नफर्काउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु ।” 21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.