Skip to content

Unlocked Literal Bible — Nepali (2019)

यर्मिया 25

1यहूदाका सबै मानिसको विषयमा यर्मियाकहाँ आएको वचन यही हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यो वचन आयो । त्यो बेबिलोनका राजा नबूकदनेसरको पहिलो वर्ष थियो । 2यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे । 3तिनले भने, “यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, र मैले तिमीहरूसित पटक-पटक बोलेको छु, तर तिमीहरूले सुनेका छैनौ । 4परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ । 5यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् । 6त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ ।” 7तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’ 8त्यसैले सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले मेरा वचन नसुनेका हुनाले, 9हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु । 10म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु । 11तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् । 12तब सत्तरी वर्ष पुरा भएपछि म बेबिलोनका राजा, र त्यो जाति र कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु र त्‍यसलाई अनन्तको उजाड पार्नेछु, यो परमप्रभुको घोषण हो । 13त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु । 14किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।” 15किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, “मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा । 16तिनीहरूले पिउनेछन् र त्‍यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् ।” 17त्यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ, र ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो, मैले तिनीहरूलाई पिउन लगाएँ, 18अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ । 19अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस, 20विभिन्‍न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा, 21एदोम, मोआब र अम्मोनका मानिसहरू, 22टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा, 23ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो । 24यसबाहेक, अरबका सबै राजा, उजाड-स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजा, 25जिम्रीका सबै राजा, एलामका सबै राजा, मादीका सबै राजा, 26उत्तरका, नजिक र टाढा बस्‍ने सबै राजा, पृथ्वीमा हुने सबै राज्यहरूले तिनीहरूका भाइसँगै परमप्रभुको हातको कचौरा पिउनुपर्‍यो । अन्त्यमा, बेबिलोनका राजाले पनि त्यस कचौरालाई पिउनेछ । 27परमप्रभुले मलाई भन्‍नुभयो, “अब तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः पिओ र मात, अनि बान्त गर, लडिबडि गर, र मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।' 28तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्‍नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ । 29किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र ? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।' 30तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ । 31युद्धको आवाज पृथ्वीको कुना-कुनासम्म गुन्‍जिनेछ, किनकि परमप्रभुले जाति-जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ, र सबै मानिसमाथि इन्साप ल्याउनुहुने छ, अनि दुष्‍टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ, यो परमप्रभुको घोषणा हो ।’ 32सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्‍लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ । 33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् । 34हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ । 35गोठालाहरूका लागि कुनै शरणस्थान छैन । बगालका अगुवाहरूका लागि त्यहाँ भाग्‍ने ठाउँ हुनेछैन । 36गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ । 37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् । 38जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्याचारीको रिस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.