Skip to content

Unlocked Literal Bible — Nepali (2019)

उत्पत्ति 37

1याकूब आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा बस्दथे । 2याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए । सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए । उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए । योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए । 3इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए । 4उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे । 5योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 6उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् । 7हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ” 8उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 9उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।” 10आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?” 11उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे । 12उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए । 13इस्राएलले योसेफलाई भने, “के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र? आऊ, र म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु ।” योसेफले तिनलाई भने, “म तयार छु ।” 14तिनले उनलाई भने, “अहिले नै जाऊ र तिम्रा दाजुहरू र बगाल ठिकै छन् कि छैनन् हेर, र मकहाँ खबर ल्याऊ ।” यसैकारण याकूबले उनलाई हेब्रोनको बेँसीबाट बाहिर शकेममा पठाए, अनि उनी त्यहाँ गए । 15एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । त्यस मानिसले उनलाई सोधे, “तिमी के खोजिरहेका छौ?” 16योसेफले भने, “म मेरा दाजुहरूलाई खोजिरहेको छु । उहाँहरूले बगाल कहाँ चराउँदै हुनुहुन्छ कृपया मलाई बताउनुहोस् ।” 17त्यस मानिसले भने, “तिनीहरू यस ठाउँबाट गइसके, तर मैले तिनीहरूले यसो भनेका सुनेको थिएँ, ‘हामी दोतानतिर जाऔँ ।’” योसेफ आफ्ना दाजुहरूका पछिपछि गए र तिनीहरूलाई दोतानमा भेट्टाए । 18तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे । 19उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ । 20अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ । हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।” 21रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए । उनले भने, “हामी त्यसको प्राण नलिऔँ ।” 22तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ । मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ ।” 23जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए । 24तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए । त्यो खाडलमा पानी थिएन र त्यो सुक्‍खा थियो । 25तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए । 26यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा? 27आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने । 28मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे । 29पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते । 30उनी आफ्ना दाजुभाइहरूकहाँ फर्के र भने, “त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?” 31तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपे। 32त्यस वस्‍त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “हामीले यो भेट्टायौँ । कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस् ।” 33याकूबले आफ्ना छोराको लुगा चिने र भने, “यो त मेरो छोराको लुगा हो । उसलाई जङ्गली जनावरले खाएछ । योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा-टुक्रा पार्‍यो होला ।” 34याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए । तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे । 35तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे । तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु ।” उनका बुबा उनको निम्ति रोए । 36मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.