Skip to content

Unlocked Literal Bible — Nepali (2019)

व्यवस्था 32

1हे आकाश, सुन्, र मलाई बोल्न दे । पृथ्वीले मेरा मुखका वचन सुनोस् । 2मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् । 3किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु । 4उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ । 5तिनीहरूले उहाँको विरुद्धमा भ्रष्‍टतापूर्वक काम गरेका छन् । तिनीहरू उहाँका छोराछोरी होइनन् । यो तिनीहरूको अपमान हो । तिनीहरू बाङ्गो र टेडो पुस्ता हुन् । 6हे मूर्ख र बुद्धि नभएका मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्‍वरलाई कृतज्ञता देखाउँछौ ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्‍न र ? उहाँले नै तिमीहरूलाई बनाउनुभयो, र स्थापित गर्नुभयो । 7प्राचीन समयलाई सम्झ, धेरै पहिलेका वर्षहरूको बारेमा सोच । तिमीहरूका पितालाई बिन्ती चढाओ र उहाँले तिमीहरूलाई देखाउनुहुने छ, तिमीहरूका धर्म-गुरुहरूलाई उहाँले बताउनुहुने छ । 8जब सर्वोच्‍चले जाति-जातिहरूलाई तिनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, र जाति-जातिहरूका सिमाना छुट्ट्याइदिनुभयो, उहाँले तिनीहरूका देवताहरूका सङ्ख्या पनि तोकिदिनुभयो । 9किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो । 10उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो । 11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो । 12परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन । 13उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो । 14तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए । तिमीहरूले फिँज उठेको दाखरस पियौ । 15तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे । 16तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए । 17तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये । 18तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ । 19परमप्रभुले यो देख्‍नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्‍नुभयो, 20“म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, अविश्‍वासयोग्य सन्तान हुन् । 21जे ईश्‍वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु । 22किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ । 23म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु । 24तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु । 25बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ । 26म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ । 27म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ । 28किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन । 29ओहो, तिनीहरू बुद्धिमानी भएर तिनीहरूले यो बुझेका भए त तिनीहरूले तिनीहरूको अन्तलाई विचार गर्नेथिए! 30तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो ? 31किनकि हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन् । 32किनकि तिनीहरूको अङ्गुरको लहरा सदोमबाट र गमोराका बारीहरूबाट आएको हो । 33तिनीहरूका दाखहरू विषालु दाखहरू हुन् । तिनीहरूका झुप्पाहरू तिता छन् । तिनीहरूको दाखमद्य सर्पहरूको विष हो र कडा गोमनको विष हो । 34के यो मैले साँचेर राखेको र मेरो भण्डारणमा छाप लगाएर राखेको योजना होइन र ? 35बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु । 36किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै छ, र तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् ।” किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ, र उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ । तिनीहरूको शक्ति गएको छ, र कमारा वा फुक्‍का कोही बाँकी छैन भनी उहाँले देख्‍नुहुने छ । 37तब उहाँले भन्‍नुहुने छ, “तिनीहरूका देवताहरू कहाँ छन् ? तिनीहरूले शरण लिने चट्टान कहाँ छ ? 38तिनीहरूका बलिहरूको बोसो खाने र तिनीहरूका अर्घबलि पिउने देवताहरू खोई ? ती उठेर तिनीहरूको मदत गरून् । तिनीहरू नै तिनीहरूको सुरक्षा होऊन् । 39अब हेर, म नै परमेश्‍वर हुँ, र मबाहेक अर्को कुनै ईश्‍वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्‍याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन । 40किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु । 41जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु । 42म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।” 43हे जातिहरू हो, परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने छ । 44मोशा र नूनका छोरा यहोशू आएर यस गीतका सबै शब्द मानिसहरूले सुन्‍ने गरी पाठ गरे । 45तब मोशाले यी सबै शब्द सारा इस्राएलीलाई भनी सिद्ध्याए । 46तिनले मानिसहरूलाई भने, “आज मैले तिमीहरूलाई साक्षी दिएका सबै वचन मनमा राख ताकि तिमीहरूका आफ्ना छोराछोरीहरूलाई यो व्यवस्थाका सबै वचन पालन गर्न आज्ञा दिन सक । 47यो तिमीहरूको जीवन भएकोले र यसद्वारा नै तिमीहरूले यर्दनपारि अधिकार गर्न लागेको देशमा तिमीहरूको आयु लम्बिने भएकोले यो तिमीहरूका लागि व्यर्थको विषय होइन ।” 48त्यही दिन परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 49“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् । 50जसरी तेरो दाजु हारून होर पर्वतमा मरेर आफ्ना मानिसहरूसित मिल्न गए त्यसरी नै तँ उक्लेर गएको डाँडामा तँ मर्ने छस्, र तँ तेरा मानिसहरूसित मिल्न जाने छस् । 51जीनको उजाड-स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्‍वासयोग्य भएकोले र इस्राएलीहरूका बिचमा तैँले मलाई आदर र इज्‍जत नगरेकोले तँमाथि यो आइपर्ने छ । 52तेरो सामु भएको देशलाई तैँले देख्‍ने छस्, तर मैले इस्राएलीहरूलाई दिने लागेको देशभित्र तँ प्रवेश गर्ने छैनस् ।”

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.