Skip to content

Unlocked Literal Bible — Nepali (2019)

१ राजाहरू 21

1यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो । 2आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ । यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु ।” 3नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून् ।” 4त्यसैले आहाब उदास भए, र रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए, “म मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते, र तिनले खाना खान इन्कार गरे । 5तिनकी पत्नी ईजेबेल तिनीकहाँ आएर भनिन्, “खानै नखाने गरी तपाईं किन यति धेरै उदास हुनुभएको छ ?” 6तिनले उनलाई जवाफ दिए, “मैले यिजरेली नाबोतलाई भनेँ, 'तिम्रो दाखबारी मलाई बेच वा तिमीलाई इच्छा लागे म तिमीलाई अर्को अझै राम्रो दाखबारी दिने छु ।' तब तिनले मलाई जवाफ दिए, 'म तिमीलाई मेरो दाखबारी दिन्नँ' ।” 7त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन्, “के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न र ? उठेर खानुहोस् । तपाईंको मन प्रसन्न होस् । म यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु ।” 8त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् । 9उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ । 10तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार । 11त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे । 12तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए । 13दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे । 14तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।” 15जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।” 16नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए, र त्यसको अधिकार गरे । 17तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो, 18“उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ । 19तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस् ?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।” 20आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस् ?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु । 21परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु । 22म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।' 23परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।' 24आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।” 25आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् । 26आहाबले परमप्रभुले इस्राएलीहरूको सामुबाट हटाउनुभएका मूर्तिहरूलाई पछ्याई एमोरीहरूले गरेजस्तै घृणित कामहरू गरे । 27जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे । तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए । 28तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो, 29“के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस् ? त्यसले मेरो सामु आफैलाई विनम्र तुल्याकोले म आउनेवाला विपत्ति त्यसकै समयमा ल्याउँदिनँ । म त्यसको छोराको समयमा त्यसको परिवारमा विपत्ति ल्याउने छु ।”

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.