Skip to content

Unlocked Literal Bible — Nepali (2019)

१ राजाहरू 19

1एलियाले गरेका सबै काम र कसरी तिनले सबै अगमवक्तालाई तरवारले मारे भनी आहाबले ईजेबेललाई बताए । 2तब ईजेबेलले एलियाकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “तैँले जसरी ती अगमवक्ताहरूको प्राण लिइस्, त्यसरी नै भोलि यसै बेलासम्म मैले तेरो प्राण लिइनँ भने देवताहरूले मलाई पनि त्यसै गरून् वा सोभन्दा बेसी गरून् ।” 3जब एलियाले यो कुरा सुने तिनी उठेर आफ्नो जीवन बचाउन भागे, र यहूदाको बेर्शेबामा आए, तर आफ्नो नोकरलाई चाहिँ त्यहीँ छाडे । 4तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए । आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो । मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ ।” 5त्यसैले तिनी पल्टे, र अम्रिसको झाडीमुनि सुते । अकस्मात् एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ ।” 6एलियाले हेरे, र आफ्नो शिरनेर कोइलामा पोलेर तयार पारिएको रोटी र एक सुरही पानी देखे । त्यसैले तिनले खाए, र पिए अनि फेरि पल्टे । 7परमप्रभुका दूत दोस्रो पटक पनि आए र तिनलाई छोएर भने, “उठेर खाऊ किनकि तिम्रो लागि यात्रा निकै लामो छ ।” 8त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए । 9त्यहाँ तिनी एउटा गुफामा गए, र त्यहीँ नै बसे । तब परमप्रभुको वचन तिनीकहाँ आयो, “ए एलिया, तँ यहाँ के गर्दै छस् ?” 10एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।” 11परमप्रभुले जवाफ दिनुभयो, “निस्केर जा, अनि पर्वतमा मेरो सामु खडा हो ।” तब परमप्रभु त्यहाँबाट भएर जानुभयो, र प्रचण्ड बतासले पर्वतलाई प्रहार गर्‍यो अनि परमप्रभुको सामु चट्टानहरू टुक्राटुक्रा भए, तर परमप्रभु बतासमा हुनुहुन्थेन । बतासपछि एउटा भूकम्प गयो, तर परमप्रभु भूकम्पमा पनि हुनुहुन्थेन । 12भूकम्पपछि एउटा आगो आयो, तर परमप्रभु आगोमा पनि हुनुहुन्थेन । आगोपछि एउटा सानो आवाज आयो । 13जब एलियाले त्यो आवाज सुने तब तिनले खास्टोमा आफ्नो मुहार लुकाए, र बाहिर निस्केर गुफाको मुखमा उभिए । तब एउटा आवाज आयो जसले तिनलाई भन्यो, “ए एलिया, तँ यहाँ के गर्दै छस् ?” 14एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।” 15तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर् । 16तैँले निम्शीका छोरा येहूलाई इस्राएलको राजाको रूपमा नियुक्त गर्नू, र तेरो ठाउँमा हाबिल-महोलाको शाफातका छोरा एलीशालाई अगमवक्ताको रूपमा अभिषेक गर्नू । 17हजाएलको तरवारबाट उम्कने जोसुकैलाई येहूले मार्ने छन्, र येहूको तरवारबाट उम्कने जोसुकैलाई एलीशाले मार्ने छन् । 18तर म इस्राएलमा सात हजार मानिसलाई बचाइराख्ने छु, जसले बालको सामु घुँडा टेकेका छैनन्, र जसका मुखले त्यसलाई चुम्बन गरेका छैनन् ।” 19त्यसैले एलिया त्यहाँबाट प्रस्थान गरे, र तिनले शाफातका छोरा एलीशालाई फेला पारे । तिनले बाह्र हल गोरुले खेत जोतिरहेका थिए । त्यस बेला तिनले बाह्रौँ हललाई जोतिरहेका थिए । एलिया एलीशाकहाँ आए, र तिनलाई आफ्नो खास्टो ओढाइदिए । 20त्यसपछि एलीशाले ती गोरुहरू छाडेर एलियाको पछि लागे । तिनले भने, “मलाई मेरा पिता र मेरी आमालाई चुम्बन गर्न दिनुहोस्, र त्यसपछि म तपाईंको पछि लाग्ने छु ।” तब एलियाले भने, “फर्केर जाऊ, तर मैले तिमीलाई भनेको कुराको बारेमा सोचविचार गर ।” 21त्यसैले एलीशा एलियाबाट गए, र एक हल गोरु लिए । तिनले हलोका काठहरू जलाएर मासु पकाए । तिनले त्यो मानिसहरूलाई दिए, र तिनले पनि खाए । तब तिनी उठेर एलियाको पछि लागे, र तिनको सेवा गरे ।

Keep going

Unlocked Literal Bible — Nepali (2019). Unlocked Literal Bible (Nepali), Door43 World Missions Community, CC BY-SA 4.0, via eBible.org. Inline cross-reference notes removed..

Books

✦ Explain this verse with AI AI explanations, Bible Q&A, characters, maps and more — in the Truth of Bible app →

Reading settings

Theme
Text size
100%
Layout

Loading the Bibles…

Your choice is remembered on this device and used for reading, search and the verse screen.